जेठ ४,बाँके । नरैनापुरस्थित क्वारेन्टइनमा निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय युवकको कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन्।
उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो।
भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा उनलाई राखिएको थियो। आज आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेका उनले केही बेरमै मृत्युवरण गरेका थिए।
शनिबारै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो।
कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टाइनदेखि करिब ३ किलोमिटको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो।
Discussion about this post