सुदूरपश्चिम प्रदेशसभाको छैटौँ बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आज दिउँसो २ बजे यो अधिवेशन बस्न लागेको हो ।
कोभिड–१९को सम्भावित सङ्क्रमणवाट जोगिन प्रदेशसभा कक्षमा साविकमा राखिएका टेबुल कुर्सीलाई दूरी कायम हुने गरी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए।
‘‘सामाजिक दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा बैठक कक्ष केही साँघुरो देखिएको छ, तर अन्य ठाउँमा विकल्प देखिएन”, सचिव धामीले भने, “सोही कक्षमा कम्तिमा पनि एक मिटर दूरी कायम गरेर प्रदेशसभा सदस्यलाई बस्ने कुर्सी टेबल राखेर सिटको व्यवस्थापन गरेका छौँ।”
बैठक कक्षमा प्रवेश गर्नेले सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्नेछ। यसका लागि यी सामग्रीको व्यवस्थापन प्रदेशसभा सचिवालयले गरेको छ।
नेपालको संविधान बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मीलाकुमारी पन्तले छैटौँ बर्खे अधिवेशन यही जेठ १३ गते दिउँसो २ बजेका लागि केही दिन अघि नै आह्वान गरेकी थिईन्र
अधिवेशनको पहिलो दिन सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयवाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा बारे सदनलाई जानकारी गराउनु हुने कार्यसूची छ।
यस्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली काँग्रेस र साविकको राष्ट्रिय जनता पार्टी हालको राष्ट्रिय समाजवादी पार्टी का एक÷एक जना नेताले अधिवेशनको सफलताको शुभकामनाका साथै समसामयिक विषयमा मन्तव्य राख्नेछन्।
बजेट अधिवेशनका रुपमा लिइने यो अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रि बजेट पेश गर्नु हुने कार्यसूचीसमेत रहेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनैतिक दलका ५३ जना सदस्यहरु रहेका छन्।
Discussion about this post