चन्द्र प्रसाद भाट,असोज १७,अछाम । बर्षायाममा लगाइएको बाली भित्र्याउने चटारो बढिरहेका बेला निरन्तरको बर्षाका कारण अछामका किसानहरुलाई बाली भित्रयाउन समस्या भएको छ ।
अहिले बारीमा धान,कोदो, मकै लगाएतका बालिहरु पाकेर कुहिने अवस्थामा पुगिसेका छन । तर बर्षा नरोकिएकाले बाली भित्र्याउन समस्या सिर्जना भैरहेको किसानहरुले बताएका छन ।
जिल्लाका बेसितिरका भागहरुमा खेतमा लगाइएको धानबाली पाकिसेको छ । तर पाकेर काटेको बाली पानीका कारण दिनहुँ भिजिरहेको उनिहरुको गुनासो छ ।
बर्षायामको समयमा पसिना बगाई लगाइएको अन्नबाली अहिलेको बर्षाका कारण जोगाउनै मुस्किल भएको मंगलसेन नगरपालिका वडा नः १ खेतगैराका किसान पहराम रानाले जानकारी दिनुभयो ।
दिनहुँ बर्षा भैरहेकाले पनि अन्नबाली संकलन गर्न समस्या भैरहेको उहाँको गुनासो छ । उनले भने,खेतमा पाकेको धानबाली हामीले काटीसकेका छौँ । तर पानीका कारण धानबाली खेतमा जम्मा भएको पानीमै भिजिरहेको छ । अब परीवार कसरी पाल्ने चिन्ताले पिरोल्न थालेको छ ।
बर्षभरी खान नपुग्ने किसानहरुलाई झन समस्या भएको उनिहरुले बताएका छन । आजभोली रातदिन झरी पर्दै गएका कारण पाकेको अन्नबाली खेतमै उम्रिने अवस्थामा पुगेको कमलबजार नगरपालिका वडा नः ८ ढाँकुका अगुवा कृषक धुर्ब बहादुर बिस्टले बताउनु भएको छ ।
निरन्तर रुपमा बर्षा हुन थालेपछि बारीमा लगाइएको तरकारी समेत कुहिन थालेको उहाँले बताउनुभयो । साथै किसानहरुका समस्याहरु स्थानिय सरकारले बुझ्न नसकेको उहाँले बताउनुभयो ।
हिउँदे बाली असिनाले सखाप पारेका बेला स्थानिय सरकारले राहातका नाममा किसानलाई आश्वासन बाहेक अहिले सम्म अरु केहि पनि दिन नसकेको उनको गुनासो छ । फेरी बर्षायाममा पानीका कारण अन्नबाली खेतबारीमै कुहिने अवस्थामा पुगेकाले किसानलाई ठुलो समस्या आईपरेको बिस्टको भनाई छ ।
Discussion about this post