चन्द्र प्रसाद भाट,असोज, ३अछाम : नेकपा एमाले जिल्ला कमिटी अछामले अछामका पहिरो पीडित परिवारका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको छ ।गत शुक्रबार राति आएको अविरल वर्षाका कारण जिल्लाको तुर्माखाँद गाउँपालिका ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका विभिन्न स्थानमा आएको पहिरोबाट जिल्लामा २२ जनाले ज्यान गुमाएका थिए । जसअन्तर्गत तुर्माखाँद गाउँपालिकाका ९ जना, ढकारीमा १ जना र कमलबजार नगरपालिका वडा नः ८ मा ५ जना र वडा नः ६ मा ७ जना गरि एकैदिन २२ जनाको मृत्यु भएको थियो ।
पहिरोमा परि ज्यान गुमाएका आफन्त र पहिरोका कारण विस्थापित परिवारलाई राहत स्वरुप आर्थिक संकलन अभियान सुरु गरिएको एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिए । पीडित परिवार लाई सहयोग गर्ने यो अभियानमा जुट्न जिल्लाका १० वटै पालिका कमिटी, वडा तथा टोल कमिटी लगायत सबै जनवर्गीय सङ्गठनहरूलाई निर्देशन समेत एमालेले दिएको छ ।
पीडितको घाउमा मल्हम लगाउन एमाले अछामले पनि पार्टीको तर्फबाट समेत सहयोग गर्ने भन्दै अन्य उद्योगी व्यापारी, व्यवसायी, शिक्षक, कर्मचारी लगायत स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक हरूमा एमाले अछामले अपिल गरेको छ । सञ्चालित अभियान मार्फत संकलन गरिएको आर्थिक सहयोग सम्बन्धित पालिकाका जनप्रतिनिधि मार्फत पीडितलाई हस्तान्त्रण गरिने पनि पार्टी सचिव रावलले बताए ।
पहिरो पीडित परिवारका लागि सहयोग गर्न चाहने सहयोगी दाताहरूले एमाले अछामको राष्ट्रिय वाणिज्य बैक मङ्गलसेन शाखामा रहेको खाता नः ४२६०१००६००६३५००१ मा जम्मा गरिदिन आग्रह गरिएको एमाले अछामले जनाएको छ । यस्तै ०९७६२०११९, ९८४१५८२०१५ र ९८६२११४२५० मा सम्पर्क गरि थप जानकारी समेत लिन सकिने पार्टीले बताएको छ ।
![](https://sudurdarpan.com/wp-content/uploads/2022/09/image-1-768x1024.png)
Discussion about this post