चन्द्र प्रसाद भाट, कार्तिक २६ अछाम । नेकपा एमाले अछाम क्षेत्र नः २ को वृहत आमसभा अछामको ढकारी गाउँपालिकामा सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागी अहिले नेकपा एमाले अछामले आफ्नो चुनावी कार्यक्रमलाई तिव्रता दिएको हो ।
आज शनिबार ढकारीमा भएको आमसभामा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा अछाम जिल्ला सह इन्चार्ज यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । अछाम निर्वाचन क्षेत्र नः २ अन्तरगत प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनुभएका एमाले नेता बोगटीले सदरमुकाम बाट टाढा रहेको ढकारी गाउँपालिकाको विकासका लागी आफू संसद्मा जाँदा बुलन्द रुपमा आवाज उठाएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, बिद्युत, खानेपानी लगायतका क्षेत्रमा ढकारी गाउँपालिकामा काम गरेको स्मरण गर्दै उहाँले यसपटक पनि जनताले संसद्मा पठाएको खण्डमा अझै प्रभावकारी विकासका लागी निरन्तर रुपमा पहल गरिने प्रतिबद्धता समेत जनाउनुभयो । ढकारीका जनताले सामान्य उपचार गर्न समेत मङ्गलसेन धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर ढकारी गाउँपालिकामा १० शैयाको अस्पतालको आफैले शिलान्यास गरेको भन्दै अहिले अस्पताल निर्माणको काम तीब्र रुपमा भैरहेको बताउनुभयो ।
अस्पतालको भौतिक संरचना निर्माण भएपश्चात त्यसको दिगो सञ्चालनका लागी दक्ष जनशक्तिको व्यवस्थापनका लागी आफूले अहिले पनि जिम्मेवार निकायमा पहल गरिरहेको बताए । विगत लामो समयदेखि सदरमुकाम आसपासमा सीमित रहेको विद्युत ढकारीको केन्द्रमा उज्यालो नेपालको नामबाट विद्युत पुगाएको बताउनुभयो । ढकारी गाउँपालिकाका तत्कालीन अध्यक्ष धन बहादुर बुढासँग समन्वय गर्दै ढकारीको विकासका लागी काम गरेको बताउनुभयो ।
ढकारी गाउँपालिका पर्यटनका क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएकाले ढकारीका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रर्वद्धनका लागी आफू प्रतिबद्ध रहेको बताउनुभयो । समग्र अछाम निर्वाचन क्षेत्र नः २ को विकासका लागी ढकारीका जनताले यसपटक पनि सूर्य चिन्हमा मतदान गरि जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको बताए । अझैपनि ढकारी गाउँपालिकाका अधिकांश टोलहरू विकट रहेका भन्दै बाँकी रहेका टोलहरूमा सडक र विद्युतको पहुँच पुगाउने प्रतिबद्धता जनाउनुभयो ।
विशाल आमसभा कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार शिव प्रसाद उपाध्यायले २०६२ ०६३ देखि नै आफूले ढकारीका समस्या नियालिरहेको भएपनि जिम्मेवारी नपाएकाले आफूले काम गर्न नसकेको बताउनुभयो । यसपटक प्रदेश सभा (ख) का मतदाताले त्यो जिम्मेवारी दिएर पठाउनेमा आफू विश्वस्त रहेको बताए । एकल रुपमा एमाले सँग निर्वाचन लड्ने आँट नेपालका कुनैपनि राजनैतिक दलहरूले नराखेको भन्दै उहाँले मंसिर ४ मा गठबन्धन भनिने विभिन्न पार्टीहरूको गञ्जागोललाई जनताले ठेगान लगाउने बताउनुभयो ।
गठबन्धनका नाममा अहिलेका राजनैतिक दलहरूले समाजमा विभिन्न आश्वासनहरू दिएर मतदाता फकाइरहेको भन्दै उपाध्यायले यस्ता कपोकल्पित भ्रमहरूका पछि अछाम मतदाता नपर्ने बताए । यस्तै उम्मेदवार उपाध्यायले कमिसनका आधारमा प्रदेश सरकारबाट योजनाहरू गाउँमा आउने परिपाटीको विकास तीब्र रहेको प्रति चिन्तित हुँदै उहाँले आफूले संसद्मा जाने अवसर पाएमा यस्तो फोहोरी खेललाई अन्त्य गर्ने समेत बताएका हुन । समान रुपमा जनताका आवश्यकताका विकासका कामहरू गर्न आफू प्रतिबद्ध रहेको भन्दे उपाध्यायले यसपटक मतदाताले सूर्य चिन्हमा मतदान गरि आफूलाई विजयी गराउनेमा विश्वास व्यक्त गरे ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रदेशसभाका समानुपातिक उम्मेदवार भरत कुमार साउँदले पहिले पनि आफू संविधान सभाको सदस्य हुँदाका बखत पनि धेरै कामहरु सुरुवात गरेको भन्दै अझैँ पनि यस क्षेत्रको विकासका लागी सक्रिय रुपमा पहल गर्ने बताए ।
Discussion about this post