काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ ।
निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गर्नुभएको हो । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले गृहकार्य सुरु गरेको जानकारी दिँदै सम्भवत: भोलि आइतवार सरकार गठनका लागि आह्वान हुनसक्ने बताउनुभयो । प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनको लागि १ सय ३८ सांसदको आवश्यकता पर्छ । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन् ।
यसैबीच, कांग्रेस पार्टीभित्र छलफलको तयारी गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले नयाँ सरकार गठनसहितका विषयमा छलफल गर्न आज सांसदसहितको बैठक बोलाउनुभएको छ । आज दिउँसो ३ बजे बस्ने बैठकमा सरकार गठन र राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदको विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले माओवादी समेतलाई विश्वासमा लिएर राष्ट्रपति को बन्नेभन्दा पनि कस्तो बन्ने भन्ने विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्णय गर्ने महामन्त्री शर्माले बताउनुभयो । उज्यालाे अनलाइन बाट
Discussion about this post