चन्द्र प्रसाद भाट, माघ १४, अछाम : कमलबजार नगरपालिकाका नगर उप प्रमुख शारदा कुमारी बिष्ट कुँवरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागेको भन्दै चासो व्यक्त गर्नुभएको छ । दक्ष जनशक्ति हुँदापनि विद्यालयहरूको गुणस्तर खस्कदैँ जानु चिन्ताको विषय भएको बताउनुभएको छ । कालीका माध्यामिक विद्यालय कमलबजार नगरपालिका वडा नः ६ विरपथको ३५ औँ अभिभावक भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै कुँवरले यस्तो बताउनुभएको हो ।
शनिबार विद्यालयले आयोजना गरेको भेलामा बोल्दै उहाँले नगरका सामुदायिक विद्यालयहरूको विकासका लागी नगरपालिकाले पहल गरिरहेको भन्दै उहाँले अहिले विविध कारणवश विद्यालयका रिक्त दरबन्दी पूर्तिगर्न नसकेको स्वीकार गर्नुभयो ।
नगरपालिका भित्रका विद्यालयहरूमा भौतिक संरचनादेखि अन्य थुप्रै समस्याहरू यथावत रहेको भन्दै समस्या समाधानका लागी पहल भइरहेको बताउनुभयो । कालीका माध्यामिक विद्यालयमा पनि जीर्ण भौतिक संरचना देखि खानेपानीको समस्या रहेकाले समाधानका लागी नगरपालिकाको तर्फबाट पहल गरिने उनको भनाई छ ।
जनताको सेवाका लागी जनताले जिम्मेवारी दिएको भन्दै जनताको आशा निराशामा परिणत हुन नदिनेमा आफू सचेत रहेको उहाँको भनाई छ । विद्यालय समयमा हुने किसोरीहरुको समस्या लाई पनि आफूले ध्यानमा राखेको भन्दै सम्पूर्ण समस्या समाधानका लागी सिंगो कार्यपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको तर्फबाट मन्तव्य राख्नुहुँदै वडा नः ६ का वडा अध्यक्ष लाल बहादुर शाहले वडा भित्रका सबै विद्यालयहरूका समस्याहरू नजिकबाट बुझेको भन्दै समाधानका लागी वडादेखि नगरपालिका सम्म आफूले पहल गर्ने बताउनुभयो । आफ्नो ५ वर्षे कार्यकाल भित्र जनताले महसुस गर्नेगरी काम गर्ने उल्लेख गर्दै वडा अध्यक्ष शाहले यसका लागी आफू प्रयासरत रहेको स्मरण गराउनुभयो ।
यस्तै अर्का विशिष्ट अतिथि पूर्व वडा अध्यक्ष राम बहादुर शाहले आफू पदमा रहँदाका बखत वडाको विकासका लागी थुप्रै काम गरेको भन्दै आगामी दिनहरूमा पनि वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा सरकारले गर्ने हरेक कामहरूमा आफ्नो सहयोग रहने भन्दै शाहले शिक्षा क्षेत्रको सुधारका लागी सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताए । भेलाको बन्दसत्रले नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्नेछ ।
Discussion about this post