चन्द्र प्रसाद भाट, १५ माघ, अछाम : कमलबजार नगरपालिका वडा नः ६ स्थित विरपथ महिला तथा बचत ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले सहकारी भवनको उद्घाटन गर्नुभएको हो ।
करीब ११ लाख लागतमा निर्माण सम्पन्न भएको भवन उद्घाटन पश्चात प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उपप्रमुख कुँवरले पछिल्लो समय महिलाहरू हरेक काममा सक्रिय बन्न थालेको प्रति खुसी व्यक्त गर्नुहुँदै समाज परिवर्तनका लागी सरिक हुन आग्रह गर्नुभएको छ ।
विरपथका महिलाहरूको सक्रियतामा सहकारी स्थापना भएको बताउँदै उहाँले अब सहकारीको दिगो व्यवस्थापनका लागी कामगर्न आग्रह गर्नुभयो । आगामी दिनहरूमा सहकारीलाई बैंकको रुपमा स्थापित गर्न सुझाव दिनुहुँदै कुँवरले यसका लागी नगरपालिकाबाट पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । महिलाहरू हरेक दृष्टिकोणबाट पछाडि पर्दै गएको भन्दै उहाँले सहकारीमा आबद्ध भई आफ्नो क्षमता विकासका लागी कामगर्न आग्रह गर्नुभएको हो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्नुहुँदै वडा नः ६ का अध्यक्ष लाल बहादुर शाहले आफ्नो वडाका महिला दिदीबहिनीहरू पछिल्लो समय हरेक कामहरूमा सक्रिय भइरहेको भन्दै आगामी दिनहरूमा महिलाको क्षमता विकासका लागी वडाबाट कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । महिलाहरूबाट स्थापित सहकारी संस्था भई कामअघि बढ्नु विकासको एक इँटा थपिएको भन्दै उहाँले सहकारीको व्यवस्थापनका लागी वडा सरकारबाट पूर्ण सहयोग रहने बताए । महिलाहरू पनि राज्यको उच्च ओहोदामा पुगेको स्मरण गर्नुहुँदै वडा अध्यक्ष शाहले मनोबल कमजोर नपार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा न्यायिक समितिका उजुरी प्रशासक पवित्रा भण्डारी, वडास्थित विद्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरु, राजनितिकर्मि,सहकारीमा आबद्ध महिलाहरु, जग्गादाता,स्थानिय लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जग्गादातालाई सम्मान समेत गरिएको थियो ।
Discussion about this post