फरक खबर, अछाम : मङ्गलसेन नगरपालिकाले नगरका १४ वटै वडामा सचेतनामूलक सडक नाटक देखाउने कार्यक्रमलाई अगाडि बढाएको छ । विशेषगरि घर परिवार समाजमा महिला माथि हुने विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पु¥याउने, धारा, कुवा, पँधेरा, लेनदेनका विषयमा हुने सामान्य झै झगडाहरू वडा स्तरमा मिलापत्रको आधारमा टुंग्याउने उद्देश्यले सडक नाटक देखाउने कार्यक्रमलाई अगाडि बढाएको हो ।
समाजमा हुने यस्ता घट्ना न्यूनिकरणका लागि कसको भूमिका के रहन्छ भन्ने विषयमा आम सर्वसाधारण नागरिकलाई जानकार बनाउने तथा न्यायका लागि स्वयम् ब्यक्तिले गर्नुपर्ने कामका बारेमा जानकारी गराउने काम भइरहेको छ । न्यायिक समितिले नगर पालिकाका १४ वटै वडामा गठन भएका न्यायिक समितिका अधिकार, समाजमा हुने विभिन्न खालका झै झगडाहरू, समाजमा कसरी मिलापत्रको आधारमा टुंग्याउने र महिला हिंसा भएमा कुन निकायमा जाने भन्ने विषयमा सडक नाटक मार्फत जानकारी गराउने काम गरिरहेको न्यायिक समितका उजुरी प्रशासक नरेश बहादुर कठायतले बताउनुभयो ।
सडक नाटक हेर्दा सुन्दा रमाइलो पनि हुने र यसबाट राम्रो सन्देश दिने काम समेत भइरहेको उजुरी प्रशासक कठायतको भनाई छ । सोही अवसरमा वडाहरूमा विभिन्न समिति समेत गठन गरिएको बताईएको छ । शनिबार मङ्गलसेन नगरपालिका वडा न ४ मा सचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ । वडा अध्यक्ष नाम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख तथा न्यायिक समितका संयोजक संगीता रावल सोडारी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले समाजमा अहिले पनि महिला तथा बालबालिका माथि विभिन्न तरिकाले हिंसा भइरहेको हुँदा त्यस्ता हिंसा न्यूनिकरणका लागि यो सडक नाटकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । हिंसा घर परिवारबाटै बढि हुने भएकाले यो सडक नाटकले जागरुक बनाउने काम गरेको उप प्रमुख सोडारीको भनाई छ । आफूले चुनावताका बेला पालिकाका १४ वटै वडामा पुगेर महिलाका समस्याहरूका बारेमा जानकारी लिएको र समस्याहरू समाधान गर्न लागि प्रतिबद्धता समेत जनाएकाले महिला दिदी बहिनीले उठाएका सवालका बारेमा आफू गम्भिर रहेको बताउनुभयो ।
विकसित जिल्लाहरूमा विकास निर्माणका कुराहरू हुने गरेको भएपनि हाम्रो जस्तो जिल्लामा अहिले पनि यस्ता सामान्य कुरामा अल्झिरहनु पर्ने बाध्यता रहेको हुँदा अब आगामी दिनमा यस्ता कार्यक्रम भन्दापनि अरु विकास निर्माण, महिला सहभागिता लगायतका विषयमा कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भएको छ । समाजमा सबैभन्दा बढि महिला माथि हिंसा हुने र त्यसको प्रत्यक्ष मारमा त्यो घरका बालबालिकाहरू पर्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
महिला माथि हिंसा भएमा त्यो घरको सबै कुराको विकासमा बाधा हुने भएको हुँदा अब घरको मूल अभिभावकले यस्ता गलत कार्यको पछि नलागी घर परिवारमा मेल मिलापको वातावरण सृजना गर्न समेत अनुरोध गर्नुभएको थियो । यस्ता हिंसाका घटनाहरू कुनै एक पक्षको पहलमा मात्रै नभई सबै सचेत नागरिकले सहयोग गरेमा केही सुधार भएर जाने बताउनुभयो । आफ्नो अवधिमा पालिकामा रहेका दिदी बहिनीको पक्षमा राम्रो काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाई थियो ।
वडा न ४ को स्वास्थ्यचौकी प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै उहाँले समाजलाई विविधताको समष्टिगत स्वरूप मानिन्छ, किनकि हाम्रो समाजको ढाँचा सिंगो सामाजिक परिस्थिति भित्र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक व्यवस्था र यसअन्तर्गत अनेकौं एकाइ छन्। नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति भएको देश हो, जसलाई बहुलवादी समाज पनि भनिन्छ। विविधता यहाँको मौलिक पहिचान हो र यो विश्वकै अनुपम र एक मात्र उदाहरण हो, विविधतामा एकता, हाम्रो समाजको विशेषता हो। यसैकारण समाजमा दाजुभाइ आफन्तहरू बिच एक आपसमा सद्भाव र सहिष्णुता छ ।
विश्वसामु हाम्रो पहिचान हामीले विकास गरेको समाज, अपनाएको संस्कृति र सभ्यतामा आधारित हुने भएकाले यस समाजको बृहत्तर विकासमा जोड दिनु नितान्त आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले महिला र बालबालिका माथि घरका पुरुषबाट नै बढि हिंसा भइरहेकाले अब सभ्य समाज निर्माणका लागि यस्ता विकृति विसंगतीको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
यस्ता हिंसाले समाज पछि पर्ने भएको हुँदा अब सकारात्मक सोचका साथ अन्य राम्रा काममा जुट्नुपर्ने अध्यक्ष बोगटीले बताउनुभयो । घरेलु हिंसाको प्रमुख कारण मदिरा भएकाले पुरुष दाजुभाइहरूले यस्ता कुराबाट टाढै रहनुपर्ने उहाँको भनाई छ । वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भएकाले यसलाई थप परिमार्जित सहित कार्यक्रम गर्न सुझाव दिनुभएको छ । वडा न ४ का दलित अगुवा मोती कामीको भनाई पनि उस्तै छ । घरपरिवार र समाजलाई सभ्यताको पहिचान दिनु छ भने समाजमा हुने यस्ता महिला हिंसा, जातीय छुवाछुत जस्ता विकृतिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नरेश बहादुर कठायतले गर्नुभएको थियो । आइतबार मंगलसेन नगरपालिकाको वडा न ३ मा सडक नाटक प्रदर्शन गरिने भएको छ ।
Discussion about this post