१० चैत्र, अछाम : विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछामले जिल्लास्थित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हामी टिबी अन्त्य गर्न सक्छौँ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय अछामले अछाम जिल्लाका क्षयरोगको वर्तमान अवस्था बारे आम नागरिकलाई जानकारी दिन पत्रकार सँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले क्षयरोगको निवारणका लागी अछाम जिल्लामा चेकजाँचको दरलाई वृद्धि गरिएको बताउनुभयो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसंग सहकार्य गर्दै क्षयरोगका बिरामीहरू पत्ता लगाउने प्रयास भइरहेको उहाँको भनाई छ ।
जिल्लामा रोगको पत्ता लागेका बिरामीहरूले नियमित औषधि सेवन नगर्नाले केही चुनौति समेत थपिएको उहाँको भनाई छ । केही समय औषधि सेवन गरी बीचैमा छाड्ने गरेकाले पनि चुनौती थपिएको उहाँले बताउनुभयो ।
विषेश गरी गरीबी समुदाय, कुपोषित बालबालीकाहरु, सिमेन्ट तथा गिटी ढुंगामा काम गर्ने नगरीक, धुम्रपान, मद्यपान सेवन गर्ने व्यक्ति बढि जोखिममा रहने भएकाले यसबाट जोगिन सबैले स्वस्थ आहार विहारका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने उहाँको सुझाव छ ।
क्षयरोग पछिल्लो समय बढ्दै गएको भन्दै यसको विषेश निगरानी गर्नुपर्ने भन्दै उहाँले अछाम जिल्लामा प्रभावकारी चिकित्सकीय उपचार पद्धतिको अभावले पनि केही समस्या सिर्जना भएको उहाँको भनाई छ ।
अछाम जिल्लामा क्षयरोगका बिरामीहरू ग्रामीण स्तरमा अझैपनि रहेका भन्दै उनिहरु लाई उपचारका लागी समयमै अस्पताल जानका लागी प्रेरित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै जिल्लास्थित सबै सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
ल्लाका सञ्चारमाध्यमले यस अघि पनि जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा आम जनतालाई जानकारी गराउँदै आएको र आगामी दिनहरूमा पनि सकारात्मक सहयोगका लागी स्वास्थ्य कार्यालयले सञ्चारमाध्यमसँग अपेक्षा गरेको कार्यालय प्रमुख झनक राज ढुङ्गानाले बताए ।
अछाम जिल्लामा क्षयरोगको अवस्था अझैपनि डरलाग्दो अवस्थामा रहेकाले क्षयरोगको निवारणका लागी सबैले हातेमालो गर्नुपर्ने सहभागीको सुझाव थियो । चालु आर्थिक वर्षको पौष महिनासम्म ५ जना क्षयरोगीको मृत्यु हुनुले जिल्लामा क्षयरोगको अवस्था जटिल बन्दै गएको कार्यालयले जनाएको छ ।
नेपालमा अहिले सम्म ३७ हजार ८ सय ६१ जना क्षयरोगीका सक्रिय संक्रमित पत्ता लागेका तथ्यांकले देखाएको छ । अछाममा पनि यो रोगको अवस्था बढ्दै गएकाले यसको निवारणका लागी जनचेतना आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ग्रामीण स्तरमै प्रभावकारी जनचेतना पुग्न सकेको खण्डमा रोग निवारणका लागी टेवा पुग्ने कार्यालय प्रमुख ढुंगानाको विश्वास छ । यसका लागी सबै सञ्चारमाध्यमले अधिक सहयोग गर्नुपर्ने उहाँको सुझाव छ ।
अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख ढुङ्गानाले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित स्थानीय सञ्चार माध्यमका साथै राष्टिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यालय प्रमुख झनकराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिन बहादुर कुँवरले गर्नुभएको थियो ।
Discussion about this post