चन्द्र प्रसाद भाट, १३ बैशाख : दीर्घ रोगीलाई उपचारका सहजता होस भन्ने उद्देश्यले नेपाल सरकार मन्त्रीस्तरको २०७८ चैत्र १३ गतेको निर्णयलाई कार्यान्वयन गर्दै अछामको कमलबजार नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीहरूलाई खर्च उपलब्ध गराउन निवेदन आह्वान गरेको छ ।
यससम्बन्धी नेपाल सरकारको कार्यविधि २०७८ अनुसार निम्न समस्याबाट पीडितलाई सहयोग उपलब्ध गराइने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद बजगाईँले जानकारी दिनुभयो ।
यस्ता बिरामीहरूलाई मासिक रुपमा ५ हजार का दरले प्रत्येक ३ महिनामा पीडितको बैँक खातामा पुग्ने गरि रकम भुक्तानीको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
पीडितले उपचार बापतको खर्च लिन आवश्यक कागजात सहित आफ्नो वडा कार्यालयहरूमा निवेदन पेश गर्न आग्रह गरिएको बजगाईँले बताए । यसमा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघसंस्था वा सङ्गठनमा रोजगारी पाएका, पेन्सनको सुविधा लिएका, विदेशी सरकारबाट रोजगारी पाएका व्यक्तिलाई भने यो सुविधा प्रदान गरिने छैन ।
मृगौलाको समस्याबाट पीडित, डायलाईसिस गाईरहेका, क्यान्सर पहिचान भई निको भएका तर चिकित्सकले तिन तिन महिनामा निरन्तर निगरानीमा राखेका व्यक्ति, मेरुदण्डको पक्षघात भइ रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त गरेका लक्षित समूहका व्यक्तिले निवेदन पेश गर्न सक्ने नगरपालिकाले जनाएको हो ।
यस्तै लक्षित समूहमा परेका औषधी उपचार गर्न नसक्ने गरीबीको परिचय पत्र भएका व्यक्ति वा वडा कार्यालयबाट विपन्न नागरिक भएको सिफारिस पत्र अनुसार नगरपालिका विपन्न भएको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिले पनि निवेदन दिन सकिने छ ।
लाभग्राहीले निवेदन पेश गर्दा नागरिकता/राष्टिय परिचयपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, माथि उल्लेखित दीर्घरोग बाट पीडित व्यक्तिहरूले कार्यविधिमा भएको अनुसूचि १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारीस, मेरुदण्ड पक्षघात भएकाको हकमा अपांगता सम्बन्धी रातो/निलो परिचयपत्रको प्रतिलिपि, गरीबीको परिचयपत्रको प्रतिलिपि, पिडीतहरुले कार्यविधि अनुसार अनुसूची २ बमोजिमको ढाँचामा वडा कार्यालयमा निवेदन दिनुपर्ने छ ।
लाभग्राहीले आफूसँग भएका प्रमाणपत्र प्रत्येक आर्थिक वर्षको श्रावण महिनाको ७ गतेभित्र वडा कार्यालयमा गई नवीकरण गरिसक्नुपर्ने पनि नगरपालिकाले जनाएको छ ।
Discussion about this post