चन्द्र प्रसाद भाट, १४ बैशाख, अछाम : मङ्गलसेन नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सक्रियता बढाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन लाई सफा, सुन्दर, आकर्षक र हरियाली बनाई नगरलाई नमूना बनाउनका लागि सक्रियता बढाएको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए ।
नेपालको संविधान २०७२ को अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (ज) अनुसार वातावरणीय संरक्षण र बजारको व्यवस्थापनका लागी नगरपालिकालाई प्राप्त अधिकार भित्र रहेर बजारक्षेत्रको फोहोरमैला व्यवस्थापनमा नगरपालिका जुटेको नगर प्रमुख पदम बहादुर बोहराले बताए ।
यसअघि पनि नगरपालिकाले बजारका पसलहरुबाट निस्किएको फोहोरमैला व्यवस्थापनका लागि हप्ताको ४ दिन सवारी पठाई व्यवस्थापन गर्दै आएको थियो । फोहोर व्यवस्थापन कार्यलाई अझै प्रभावकारी बनाउन स्थानीयको मुख्य भूमिका रहने भन्दै नगरपालिकाले यस कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
यसैबीच फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा १८ र नियमावली २०७० को नियम १६ को उपनियम १ बमोजिम फोहोरमैला व्यवस्थापन सेवा शुल्क उठाउने कानुनी प्रावधान रहेकाले मङ्गलसेन नगरपालिकाले व्यवसाय गरिरहेका व्यवसायीहरू सँग फोहोर व्यवस्थापन शुल्क उठाउने निर्णय पनि गरेको छ ।
नगरपालिकाको राजश्व परामर्श समितिको बैठकको निर्णय अनुसार शुल्क उठाउन लागिएको कार्यालय प्रमुख सोडारीले बताए । बैशाख महिनादेखि लागु हुने गरि शुल्क उठाउन लागिएको पालिकाले जनाएको छ । हरेक महिनाको २५ गतेभित्र नगरपालिकाको राजश्व शाखामा शुल्क बुझाउन पनि नगरपालिकाको आग्रह गरेको छ ।
निर्धारण गरिएको शुल्क अन्तरगत चिया नास्ता, किराना र जुत्ता पसललाई मासिक ५० रुपैयाँ, कस्मेटिक, श्रृगार पसल, सैलुन,कपडा पसल र स्टेसनरी पसललाई मासिक १०० र मेडिकल, होटल, हार्डवेयर, मदिरा पसलहरूलाई मासिक १५० रुपैयाँ शुल्क तोकिएको नगरपालिकाका सूचना अधिकार विष्णु प्रसाद जैशीले जानकारी दिए । अन्यथा नियमको अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गरिने पनि उहाँले बताउनुभयो ।
Discussion about this post