धनराज साउँद । अछाममा रहस्यमय ढंगले मृत फेला परेका एक किशोरको शव तीन दिनसम्म उठ्न सकेकाे छैन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको शनिबार बिहान घरनजिकैकाे भिरमा शव फेला परेकाे थियाे ।
१७ जेठकाे साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको झगडापश्चात बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए । मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोंचमा उनको शव फेला परेको थियाे ।
मृतक किशाेरका आफन्तले कांग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन् । निर्वाचनका क्रममा शाही एमालेकाे प्रचारमा सक्रिय थिए । साेही कारण उनकाे हत्या भएकाे आराेप एमालेजनले लगाइरहेका हुन् ।
यसरी सुरु भयाे विवाद ?
३० वैशाखमा मतदानका क्रममा ऋषिकुल माध्यमिक विद्यालयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच सामान्य झडप भएकाे थियाे । केही घाइते भए । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । त्यसपछि १७ जेठकाे साँझ कालिकास्थानको कुच्चिमा एमाले कार्यकर्ताले वडाको चुनावका क्रममा घाइते भएका एमाले कार्यकर्ताको औषधि उपचार गर्न कुनै पहल नगरेकाे भन्दै कांग्रेस नेतालाई गुनासो पोखे । गुनासो पोख्ने क्रममा दुवै पक्षबीच फेरि झडप भयाे ।
झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय विनायकको टोली पुग्याे । झडपमा संलग्नलाई पक्राउ गर्न खोज्दा स्थानीयवासी र प्रहरीबीच पनि विवाद भयाे ।
साेही दिनदेखि १६ वर्षीय विनोद बेपत्ता भए । उनकाे २१ जेठकाे बिहान शव फेला पर्याे । बेपत्ता छोराको खोजीका लागी प्रहरी प्रशासनलाई खबर गर्दा समेत कुनै चासो नदिएको बुबा बलबहादुरले बताए ।
विनायक तनावग्रस्त
बेपत्ता रहेका किशोर मृत भेटिएपश्चात् विनायक क्षेत्र तनावग्रस्त छ । विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन् । विनायक बजारमा चर्केकाे प्रदर्शन नियन्त्रणमा लिन शनिबार प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको थियो ।
किटानी जाहेरी दर्ता नभए शव उठाउन दिँदैनौँ
जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन् । नगरप्रमुख अम्बिका चलाउनेसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको आफन्तले बताएका छन् । किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशंका गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ ।
पाँच दिनदेखि बेपत्ता रहेका किशोर मृत भेटिए पनि नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि घटनास्थलमा एक पटक पनि उपस्थित नभएको नेकपा एमाले अछामका सचिवालय सदस्य तथा पञ्चदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए ।
मेयरले जारी गरिन् विज्ञप्ति
पंचदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले १६ वर्षे किशोरको रहस्यमय मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीकाे माग गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले घटनाको छानबिन गरी दाेषीलाई कारबाहीकाे माग गरेकी हुन् ।
यता प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घटनाकाे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरको समेत सहायता लिइएकाे छ । तुफान नामकाे तालिमप्राप्त कुकुरको सहायता लिएर थप अनुसन्धान भइरहेकाे उनले बताए । शिलापत्र बाट
Discussion about this post